Pages

Tuesday, 24 April 2012

आरोप पुष्टी भए जागिर छाड्ने डिआइजी राईको चुनौती

काठमाडौ, वैशाख १३ - महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख डीआइजी गणेश राईले आफूलाई लागेको आरोप पुष्टि भए जागिर छाड्ने चुनौति दिएका छन् । राईलाई सर्वसाधरणलाई दिने नगदी रसिद नक्कली छापेको, मातहतको पोष्ट इन्चार्जसंग पैसा लिने गरेको, पोष्टले पठाएको राजश्व सबै बैंकमा जम्मा नभएको लगायतको आरोपमा प्रहरी प्रधान कार्यालयले अनुसन्धान थालेपछि उनले यस्तो चुनौति दिएका हुन् । पिताको उपचारका लागि उनी दिल्लीमा रहेका बेला अनियमितताको आशंकामा महाशाखा तथा उपत्यकाका २८ वटा ट्राफिक पोस्टबाट कागजात नियन्त्रणमा लिएर छानविन सुरु भएको छ । उनी मंगलबार दिल्लीबाट राजधानी आएका हुन् । उनले कान्तिपुसित भने,‘मैले आर्थिक अनियमिमता गरेको पुष्टि गर्न चुनौती दिन्छु, यदि पुष्टि भए जागिर छाडन तयार छु ।’ उनी फर्कने बित्तिकै महाशाखा र मातहतका २८ ट्राफिक पोष्टका इन्चार्जलाई बोलाएर छलफल गरेका थिए । इन्चार्जहरुले ट्राफिकमा लागेको आरोपले काम गर्न समस्या भएको राईलाई बताए । राईले भने, ‘रेकर्ड व्यवस्थापन र प्राविधिक त्रुटी भए छुटै कुरा, बद्नियत तरिकाले कसैले पनि अनियमितता गरेको छैन ।’ ट्राफिक कार्यालयमा अनियमितता भएको भन्दै प्रधानमन्त्री कार्यालयमा उजुरी परेपछि प्रधान कार्यालयले छानविन थालेको हो । प्रहरी महानिरीक्षक रविन्द्रप्रताप शाहले ट्राफिक गतिविधिबारे गुनासो आएकाले अनुगमन गरेको बताएका छन् । श्रम तथा यातायात मन्त्रालयले ट्राफिकलाई थप जिम्मेवारी दिएकोले त्यसलाई कसरी व्यवस्थित गराउन सकिन्छ भनेर अनुगमन थालेको उनको भनाई छ ।

चाउचाउ खाँदा बेहोस

उदयपुर, वैशाख १२ - चार दिनअघि चाउचाउ खाँदा बेहोस भएका खोटाङका दुई किशोरीलाई थप उपचारका लागि मंगलबार हेलिकोप्टरमार्फत काठमाडौं लगिएको छ। गत शुक्रबार चाउचाउ खाएपछि एकाएक बेहोस भएका दिक्तेल ४ की दिलमाया आचार्य र अर्की जानुका आचार्यको अवस्था विग्रेको थियो। स्वास्थ्यमा सुधार नभएपछि राजधानी रेफर गरिएको जिल्ला अस्पताल दिक्तेलले जनाएको छ। प्रतिगोटा १५ रुपैयाका दरले किनेर खाएको चाउचाउले १६ वर्षीया दिलमाया र जानुका बेहास् भएपछि भोलिपल्टदेखि दिक्तेलमा उपचार गराइरहेका थिए। तर, निको हुन्छ भन्दाभन्दै झन् झन् विरामी बढ्दै गएपछि थप उपचारका लागि काठमाडौ लानुपरेको दिलमायाका बाबु अग्निप्रसादले बताए।

दलहरू अन्तिम लेनदेन गर्दै

वैशाख १३- माओवादी संघीयतामा लचिलो भए कांग्रेस-एमाले सीमित कार्यकारी अधिकारसहितको जनताले चुनेको राष्ट्रपति हुने मिश्रित प्रणाली स्वीकार्न तयार देखिएका छन्। संविधानका विवादित विषयमा सहमति जुटाउन श्रृंखलाबद्ध बैठकमा जुटेका कांग्रेस-एमालेका शीर्षनेताहरूले आफ्नो दलका केन्द्रीय सदस्य र सभासदहरूलाई यस्तो जानकारी गराएका हुन्। संविधान सभा भवनमा मंगलबार भएको एकीकृत माओवादी, कांग्रेस, एमाले र मधेशी मोर्चाका शीर्षनेताहरूको एकपक्षीय, दुईपक्षीय, त्रिपक्षीय र बहुपक्षीय बैठकहरूमा शासकीय स्वरुप र राज्य पुनर्संरचनाबारे छलफल भएको थियो। कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले शासकीय स्वरुप र राज्य पुनर्संरचनाका विषय एकैसाथ निर्णय हुने जानकारी दिए। नागरिकता र न्याय प्रणालीबारे यसअघि नै सहमति भइसकेको छ। निर्वाचन प्रणालीबारे पनि मंगलबार बिहानको बैठकमा चार दलबीच सहमति भएको मोर्चाका राजकिशोर यादवले जानकारी दिए। बाँकी दुईसहित पाँचैवटा विषयमा एकसाथ सहमति भएको औपचारिक निर्णय हुने सिटौलाले बताए। 'संविधानका पाँचवटै विषयमा एकसाथ निर्णय हुन्छ, एउटा विषय मिलेन भने अरु विषयमा पनि सहमति हुँदैन,' उनले भने। कांग्रेस-एमाले प्रदेशको संख्या ७ गर्नुपर्ने पक्षमा छन् भने माओवादीले १४ प्रदेशको मत राखेको छ। माओवादी स्थायी समिति सदस्य अमिक शेरचनका अनुसार पार्टीले अझै पनि जातीय पहिचानसहितका १४ प्रदेश छाडेको छैन। माओवादीले जातीय पहिचान र अग्राधिकार त्यागेर प्रदेशको संख्या कम गर्न सहमत भए राष्ट्रपति जनताले प्रत्यक्ष चुन्ने र संसद्ले चुन्ने प्रधानमन्त्री हुने मिश्रित प्रणाली स्वीकार्न कांग्रेस-एमाले तयार देखिएका हुन्। सहमति जुट्नेतर्फ चार दलको बैठक सकारात्मक रूपमा बढेपछि माओवादी, कांग्रेस र एमालेले आ-आफ्ना बैठक गरी यसबारे छलफल पनि गरे। कांग्रेसले केन्द्रीय समितिको बैठक संविधानसभा भवनमै बोलायो। माओवादीको पनि स्थायी समिति बैठक बस्यो भने एमालेका केही स्थायी समिति सदस्यले करिब २०ख प्रभावशाली सभासदसँग छलफल गरे। छलफलमा नेताहरूले सहमतिका लागि सम्भावित आधारहरूसमेत प्रस्तुत गरेका थिए। त्यसपछि अपराह्न करिब पाँच बजे संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दलका संसदीय दलका नेताको बैठक बोलाएर त्यसमा पनि सहमतिका आधारबारे माओवादी अध्यक्ष पुष्पकमल दाहालले जानकारी गराएका थिए। आ-आफ्नो दलको बैठकमा कांग्रेस र एमालेका नेताले 'जनताले प्रत्यक्ष चुनेको राष्ट्रपति र संसदले चुनेको प्रधानमन्त्री' मा कार्यकारी अधिकार बाँड्ने र ती अधिकार संविधानमै लेख्ने 'मिश्रित प्रणाली' मा सहमति गर्न लागेको जानकारी दिएका थिए। बुधबार बिहान कांग्रेस संसदीय दल र केन्द्रीय समितिको पुनः बैठक बसी यसबारे छलफल गर्ने कांग्रेस संसदीय दलका प्रवक्ता नविन्द्रराज जोशीले जानकारी दिए। एमालेको बैठकमा सदस्यहरूले जेठ १४ भित्र संविधान जारी गर्नैपर्ने समयसीमा रहेकाले त्यसलाई ध्यान दिएर उपयुक्त निर्णय गर्न सुझाव दिएका थिए।

Thursday, 5 April 2012

सय रुपैयाँको नोटमा 'बुद्ध नेपालमा जन्मेको' लेखिने

सरकारले भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई नेपाली एकसय रूपैयाँको नोटमा 'गौतमबुद्ध नेपालमा जन्मेका हुन्' भनेर लेख्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को आज अपराह्न बसेको बैठकले लुम्बिनी भ्रमण वर्ष २०१२ लाई प्रचारप्रसार गर्ने तथा सोही सन्दर्भमा गौतमबुद्धको जन्मस्थलका बारेमा प्रचार गर्न सो निर्णय गरेको अर्थमन्त्री वर्षमान पुनले जानकारी दिए।