तेह्रथुम र धनकुटाको सीमास्थित पटेकडाँडा–मार्गपोखरी क्षेत्रको दिगो पर्यटन विकासका लागि दुवै जिल्लाका दल, स्थानीय निकाय र स्थानीयवासीले पहल सुरु गरेका छन् ।
दुवै जिल्लाको सीमा क्षेत्रमा रहेका पर्यटकीय स्थलहरुको विकासका लागि एकीकृत गुरुयोजना बनाउन उनीहरुले पहल सुरु गरेका हुन् । पटेकडाँडा–मार्गपोखरी क्षेत्रको दिगो पर्यटन विकासको योजना तय गर्न तेह्रथुम र धनकुटा जिल्लाका दल, स्थानीय निकाय र सरोकारवालाहरुबीच सिंधुवा बजारमा दुई दिनसम्म छलफल भएको छ । दुवै जिल्लाका जिल्ला विकास समितिको सहयोगमा धनकुटाको ग्रामीण विद्युत् सहकारी संस्था, बसन्तपुरको राष्ट्रिय लालीगुराँस संरक्षण व्यवस्थापन समिति र सिंधुवाको सगरमाथा दुग्ध चिस्यान तथा वितरण सहकारी संस्था लिमिटेडद्वारा आयोजित छलफलमा सीमा क्षेत्रका पर्यटकीय स्थलको प्रवर्धन गर्न एकीकृत पर्यटन गुरुयोजना बनाउने सहमति भएको छ । दुवै जिल्लाका जिल्लास्तरीय सर्वदलीय संयन्त्रका प्रतिनिधि, जिल्ला विकास समिति, सीमा क्षेत्रका एक दर्जन गाविसका सर्वदलीय संयन्त्रका प्रतिनिधि, गाविस सचिव, सामुदायिक वन समूह र पर्यटन व्यवसायी सहभागी छलफलमा सहभागीहरुले पटेकडाँडा–मार्गपोखरी क्षेत्रको दिगो पर्यटन विकासका लागि पटेकडाँडामा भ्युटावर निर्माण, पदमार्ग निर्माण, जैविक विविधताको संरक्षण, क्याम साइड निर्माण गरिनुपर्नेमा जोड दिएका छन् ।
यसैबीच, तेह्रथुको फुलेक, आङ्दिम, दाँगपा र धनकुटाको मूर्तिढुंगा, मारेकटहरे र परेवादिन गाविसको सीमास्थित पटेकडाँडाबाट सूर्योदय र सूर्यास्त हेर्न सकिने राष्ट्रिय लालीगुराँस संरक्षण व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण तिवारीले बताए । उनका अनुसार समुन्द्र सतहदेखि २७ सय २ मिटर उँचाइमा रहेको सो डाँडाबाट विश्वको सर्वोच्च शिखर सगरमाथा, कञ्चनजंघा, मकालु, गौरीशंकर लगायत १ दर्जनभन्दा बढी हिमशिखर र पूर्वाञ्चलका १६ वटै जिल्ला हेर्न सकिनेछ । यस्तै तेह्रथुमको आङ्दिम र पूmलेक गाविसको सीमास्थित मार्गापोखरी धार्मिक महत्व रहेको छ । मार्गपोखरीमा मार्गदेवीको पूजा गरे मनोकामना पूरा हुने जनविश्वास छ । पटेकडाँडा– मार्गापोखरी गुराँसको राजधानी भनेर चिनिएको तीनजुरे–मिल्के–जलजले
(टीएमजे) क्षेत्रको प्रवेशद्वारसमेत हो ।
No comments:
Post a Comment